यस बर्ष १२ महिनाको पढाइ ७ महिनामै सक्ने निर्णय

काठमाडौँ

  कोरोना महामारीका कारण आधा शैक्षिक सत्र खेर गए पनि सरकारले आउँदो चैतमै यो वर्षको शैक्षिक सत्र सक्ने निर्णय गरेको छ ।

  शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले छोटकरी पाठ्यक्रम सार्वजनिक गर्दै बाँकी सात महिनामै यो वर्षको शैक्षिक सत्र पूरा गर्ने निर्णय सार्वजनिक गरेको हो ।

  सरकारले वैकल्पिक सिकाइलाई मान्यता दिँदै कक्षा १ देखि दशसम्म असोज १ गतेदेखि त्यसै माध्यमबाट पठाउन विद्यालयलाई निर्देशन दिएको छ ।  पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले संश्लेषित पाठ्यक्रम अनुसार बाँकी सात महिनामा यो वर्षको पठनपाठन पूरा हुने जानकारी दिए । उनले छोटकरी पाठ्यक्रमलाई पनि दुई भागमा बाँडेर अध्यापन गराइने बताए ।

 दाहालले भने–‘हामीले पाठ्क्रमलाई दुई भागमा विभाज गरेका  छौं । जसमा विद्यार्थीले आफै पढेर नबुझेका कुरा शिक्षकलाई सोध्न सक्नेछन्, त्यस्तै घरैमा पढेर अभिभावकको सहयोगमा पनि पढ्न सक्नेछन् ।

वैकल्पिक सिकाइका लागि सरकारले अनलाइन, टेलिभिजन, रेडियो तथा अन्य माध्यमबाट पढाइ शुरु गर्न विद्यालयहरुलाई सहजिकरण गर्ने जनाएको छ । त्यसका लागि विद्यार्थीलाई निःशुल्क मोबाइल डाटा तथा अन्य सुविधा उपलब्ध गराउने विषयमा मन्त्रालयले छलफल चलाइ रहेको महानिर्देशक दाहालको भनाइ छ ।