धनगढी पोष्ट शनिबार, ११ असार २०७९   June 25, 2022

९ गुणाले बढ्यो संक्रमण

९ गुणाले बढ्यो संक्रमण

धनगढी । नेपालमा पछिल्लो १० दिनको अवधिमा कोरोना संक्रमण दर ९ गुण बढेको छ । १९ पुसमा देशभर पीसीआर र एन्टिजेन १२ हजार ४ सय ९८ परीक्षण भएकामा २८ पुसमा १३ हजार ३६ नमुनाको मात्र परीक्षण भएको छ । त्यतिबेला ३ सय २६ संक्रमित थिए भने १० दिनपछि संक्रमितको संख्या ३ हजार ७५ पुगेको छ । यस अवधिमा संक्रमण दर २ दशमलव ६० प्रतिशतबाट बढेर २३ दशमलव ५८ प्रतिशत पुगेको छ ।

विज्ञहरूले कोरोनाको नयाँ भेरिएन्टका कारण भित्रभित्रै संक्रमण समुदायस्तरमा फैलिसकेकाले परीक्षण संख्या नबढाउने हो भने संक्रमणले विस्फोटक रूप लिने दाबी गरेका छन् । १० दिनमा दैनिक देखिने संक्रमण दर र संक्रमितको संख्या करिब तीव्र गतिमा बढे पनि परीक्षण उस्ताउस्तै देखिनु सही होइन, भाइरोलोजिस्ट एवं प्रदेश २ जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. श्रवणकुमार मिश्र भन्छन्, ‘तुरुन्त व्यापक रूपमा परीक्षण नबढाउँदा भित्रभित्रै सल्किरहेको संक्रमण एकैचोटि विस्फोट हुने जोखिम छ, त्यतिखेर परिस्थिति काबुबाहिर जान सक्छ ।

तत्कालै गर्न सकिने एन्टिजेन परीक्षण पनि निकै सुस्त छ । पुस १९ मा २ हजार ७९८ नमुनाको एन्टिजेन परीक्षण गरिएकामा पुस २८ मा ३ हजार ९८५ को मात्र परीक्षण गरिएको छ । यस अवधिमा संक्रमण दर १ दशमलव २२ प्रतिशतबाट बढेर १५ दशमलव ७ प्रतिशत पुगेको छ ।

विज्ञहरूका अनुसार ओमिक्रोनका कारण संक्रमण तीव्र फैलिरहेको र त्यसले तेस्रो लहरको रूप लिइसकेको छ । संक्रमणलाई रोक्न प्रभावकारी रणनीति बनाउन ढिलाइ गर्न नहुने डा. मिश्र बताउँछन् । समाजमा यो भाइरस घातक स्तरसम्म फैलिसकेपछि यसलाई रोक्ने प्रयास गर्नुले कुनै फाइदा नहुने उनि बताउँछन् ।