साझा धारणा नबन्दा लगानीमैत्री वातावरण बन्न सकेन : मुख्यमन्त्री भट्ट

साझा धारणा नबन्दा लगानीमैत्री वातावरण बन्न सकेन  : मुख्यमन्त्री भट्ट

धनगढी । तीन वटै सरकारका विचमा साझा धारणा बन्न नसक्दा देशमा लगानीमैत्री वातावरण बन्न नसकेको भन्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले त्यसका लागि सवैले एक ठाउँमा उभिनु आवश्यक रहेको बताएका छन् ।

जग्गाको सहज उपलब्धता सँगसँगै सुरक्षाको प्रत्याभूति र कानूनमा देखिने झमेलाको सहजीकरण जस्ता विषयमा तीन वटै सरकारको साझा धारणा नबनी लगानीमैत्री वातावरण बन्न नसक्ने मुख्यमन्त्री भट्टले बताए ।

गैरआवसीय नेपाली सङ्घ (एनआरएन)का अध्यक्षसहितका पदाधिकारीको सहभागितामा मंगलबार धनगढीमा भएको अन्तरक्रियामा मुख्यमन्त्री भट्टले नेपालमा विकास र लगानीको मोडेल (प्रारुप)मा एकरुपता नहुँदा यस्तो समस्या आएको बताए ।

सुदूरपश्चिम प्रदेशमा पर्यटन, कृषि, ऊर्जा, उद्योगलगायत लगानी गर्न सकिने थुप्रै सम्भावना भएपनि साझा धारणा नहुँदा ती सम्भावना ओझेलमा परेका उनले बताए ।

प्रदेशमा अहिलेसम्म ठुलो लगानी कतैबाट भएको छैन, मुख्यमन्त्री भट्टले भने, ‘हामी लगानीका लागि सवैलाई आह्वान गरिरहेको छौं, लगानीमैत्री वातावरण सिर्जना गर्न प्रदेश सरकार प्रतिबद्ध छ ।

आर्थिक मामिलामन्त्री तारालामा तामाङ र भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीले प्रदेशको समग्र विकासका लागि एनआरएनबाट भूमिका निर्वाह भइरहने विश्वास व्यक्त गरे । एनआरएनका अध्यक्ष कुमार पन्तले विदेशमा बसेर प्राप्त भएको ज्ञान सीपलाई आफ्नै देशको समृद्धिका लागि प्रयोग गर्ने सोच संस्थाको रहेको बताए ।

नेपालमा कोभिड१९ को समस्या आउँदा सबैभन्दा पहिले एनआरएनले नै सहयोग सामग्री पठाएको थियो, उनले भने, ‘हामी फेरीपनि सहयोग गर्न तत्पर छौं, तर काम गर्ने वातावरण हुनुपर्छ । एनआरएनको पहलमा नेपालमा दश अर्ब रुपैयाँ लागानीका लागि प्रयास भइरहेको उनले बताए ।