धनगढी पोष्ट आइतबार, ०९ असोज २०७९   September 25, 2022

मेयर हमालले सार्वजनिक गरे एक सय दिनका मुख्य कामको विवरण

मेयर हमालले सार्वजनिक गरे एक सय दिनका मुख्य कामको विवरण

धनगढी । धनगढी उप महानगरपालिकाका मेयर गोपाल हमालले निर्वाचित भएको एक सय दिनको कामको प्रगति सार्वजनिक गरेका छन् ।

विशेषज्ञ सहितको वडा स्वास्थ्य क्लिनिक, अतिक्रमित खोलानाला हटाउने कार्य, फोहोर मैला व्यवस्थापनका लागि थालिएको प्रयास, नाली सफाई अभियान लगायत ४२ वटा कामको थालनी एक सय दिनमा गरिएको मेयर हमालले सार्वजनिक गरेको प्रगति विवरणमा उल्लेख गरिएको छ ।

मेयर हमालका अनुसार साउन १ गते देखि सुरु भएको विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकमा हाल सम्म ६ हजार ४ सय ७५ जना नगरवासीले सेवा लगेका छन् । सेवा प्रदान गर्ने क्रममा गम्भिर प्रकृतिका स्वास्थ्य समस्या समेत देखिएपछि ती नागरिकलाई थप सेवा प्रदान गर्न गेटा आँखा अस्पताल र श्रीनगर डेण्टल संग सम्झौता गरी सेवा थप गरिएको मेयर हमालले बताए ।

विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकका लागि सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले इसिजि मेसिन र भिडियो एक्सरे मेसिन हस्तान्तरण गरिएको र विभिन्न दातृ निकायबाट १० लाख पन्द्र हजार सहयोग गरिएको जनाइएको छ ।

मेयर हमालले सार्वजनिक गरेको प्रगति विवरण अनुसार फोहोरमैला व्यवस्थापनका लागि विशेषज्ञ यम प्रसाद भण्डारी संग सम्झौता भएको छ । भण्डारीले घरबाटै फोहोरको श्रोत छुट्याउन नागरिकलाई सचेतना कार्यक्रम सञ्चालन गर्ने छन्  । फोहोरको श्रोत पहिचान गरी व्यवस्थापन गर्न आवश्यक कन्टेनर समेत व्यवस्था गर्न लागिएको जनाइएको छ ।

यसैगरी विद्यार्थीलाई पनि फोहोर व्यवस्थापन सम्बन्धी अभिमुखिकरण गर्ने कार्यक्रम उपमहानगरले तय गरेको छ । विद्यार्थीलाई जनचेतना दिन सरसफाई अभियान्ता केपि खनाललाई धनगढी ल्याउने सहमति भएको छ ।

धनगढीको डुवान समस्या समाधानका लागि अतिक्रमण नाला हटाउने कार्य सुरु गरिएको र सो कार्य ५ बर्ष सम्म नै सञ्चालन हुने मेयर हमालले बताए । त्यसको सुरुवात धनगढी५ स्थित सुकुटी नालाबाट गरिएको उनले बताए । खोलानालाको अतिक्रमण हटाउन र सडकका नाली व्यवस्थापन गर्न थप दुई वटा डोजर खरिद प्रक्रिया सुरु गरिएको उनले बताए । अतिक्रमित खोलानाला खालि गर्ने कार्य धनगढीका १९ वटै वडामा सुरु हुने मेयर हमालले बताए ।

मेयर हमालका अनुसार नगरको सुशासन कायम राख्न र जनगुनासो सुन्न ह्वाट्स एप सुचारु गरिएको छ । सो एपमा हाल सम्म १ हजार ५ सय जनाले गुनासो गरेका छन् । त्यसैगरी धनगढी ट्राफिक चौराह देखि क्याम्पसरोड सम्मका खाल्डाखुल्डी पुरिएका छन् भने नगर सभा र कार्यपालिकाको बैठकको प्रत्यक्ष प्रसारण गर्न थालिएको छ ।

आफ्नो एक सय दिनको कार्यकालमा धनगढी मुख्य बजार क्षेत्रमा हाल सम्म सफाई नगरिएको पार्कमोडको नाली सफाई गरी डुवान समस्या समाधान गरिएको छ । त्यसैगरी नगर क्षेत्रमा रहेको छाडा पशु चौपाया व्यवस्थापन गर्न देवरिया र रामपुरमा निर्माण गरिएका कान्जिहाउस व्यवस्थित गर्न राष्ट्रिय गौसेवा तथा संरक्षण समिति नेपाल संग सम्झौता गरिएको छ भने, देवरिया गौशालामा रहेका पशुको नियमित स्वास्थ्य परिक्षणका लागि प्राविधिक जनशक्ति परिचालन गरिएको छ ।

मेयर हमालका अनुसार यस अवधिमा कैलाली पुल देखि क्याम्पसचोक सम्मको सडक विस्तारका लागि डिपीआर गर्ने कार्य सुरु गरिएको छ । धनगढीलाई स्वच्छ र हरियाली बनाउन चालु आर्थिक बर्षलाई हरियाली बर्षका रुपमा मनाइने र सो अन्तरगत हाल ३० लाखको वृक्षारोपणका लागि ठेक्का भएको मेयर हमालले बताए । त्यसैगरी नगर विकासबाट मेयर र धनगढीका प्रशासकिय प्रमुखले पाउने भत्ता वाफतको रकम कटौति गरी ७८ लाख निकासा गर्ने निर्णय गरिएकोमा सो मध्य ४० लाख बजेट वृक्षा रोपणमा खर्च गरिने मेयर हमालले बताए । वृक्षा रोपण गर्दा बिरुवालाई हुर्काउने गरी योजना बनाइने मेयर हमालले बताए ।

उनका अनुसार नगरमा पहुँचका आधारमा नभई नियमका आधारमा काम गर्ने प्रणालीको विकास गरिएको छ । एक सय दिनको अवधिमा नगरको बजार क्षेत्रमा अव्यवस्थित रुपमा राखिएका ठेला व्यवस्थित गर्न स्थान दिइएको छ ।

धनगढी भीत्र भइरहेका विकास कार्यमा हुने ढिलासुस्तिलाई हटाउन समयमै काम नगर्ने निर्माण व्यवसायीलाई कालो सूचिमा राख्ने सहमति गरिएको मेयर हमालले बताए । कोरोनाको समयमा सेवा गर्दागर्दै ज्यान गुमाएका दुई जना स्वयंसेविकालाई आर्थिक सहायता प्रदान गरिएको, वृक्षा रोपण गरेर प्रगति शुन्य हुने अवस्थाको अन्त्य गर्न विरुवा सुरक्षा योजना लागु गरिएको  र बिरुवा बचाउन ट्री गार्डका लागि ठेक्का भएको मेयर हमालले बताए ।

उनले कामका आधारमा उत्कृष्ठ कर्मचारीलाई अतिरिक्त भत्ता पाउने व्यवस्था गरिएको । जेठ र असाढमा आफुले पाएको आर्थिक सुविधालाई धनगढी३ को गौसाला र दक्षिणकाली बहिरा आवासिय आधारभुत विद्यालयलाई हस्तान्तरण गरिएको, नगर क्षेत्र भित्र रहेका विद्यालयको नियमित अनुगमन निरिक्षण गर्ने प्रणालीको विकास गरिएको, जेष्ठ नागरिकलाई नीजि अस्पतालमा पनि स्वास्थ्य सेवामा सहज सेवा उपलब्ध गराउने उद्देश्यले नीजि अस्पताल सञ्चालक संग सम्झौता गरी जेष्ठ नागरिक ओपिडि निशुल्क, शैया शुल्क र औषधी खरिदमा छुटको व्यवस्था गरिएको मेयर महालले सार्वजनिक गरेको प्रगति विवरणमा उल्लेख छ ।

हमालका अनुसार निर्माणाधिन चटकपुर क्याम्पसरोड सडक खण्ड अन्तरगत विवाद भएका स्थानको समस्या समाधान गरी काम सुचारु गराइएको छ । नगरमा शान्ति सुरक्षा कायम गर्न नगर प्रहरी भर्नागरी परिचालन गरिएको, धनगढीलाई प्रदुषण रहित, बिकसित र सुबिधा सम्पन्न बनाउन प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री, लगायत विभिन्न मन्त्रालयका सचिव संग आवश्यक सल्लाह र सहयोग मागिएको, नगर क्षेत्र भित्र सुर्तिजन्य पर्दाथ तथा प्लास्टिकको प्रयोग निशेत्र गर्ने योजना अघि बढाइएको छ । साथै सडकका नालीमा फोहोर फाल्ने र खोला नालमा ढल मिसाउने व्यक्तिलाई कारवाही गर्ने नीति लागु गरिएको मेयर हमालले जनाएका छन् ।

उनका अनुसार धनगढीलाई हराभरा बनाउन बैंक तथा वित्तिय संस्थालाई अपिल गर्दा केही संस्थाबाट सहयोग पाइएको छ । भूमिहिन, दलित, सुकम्वासी र अव्यस्थित बसोवासीलाई पुर्जा वितरण गर्न वडा नम्बर, , , , , , , , ११, १२, १३ र १५ मा जग्गा नापि गर्ने कार्य सुरु गरिएको छ । सञ्चारको समस्या रहेको वेहडाबाबा मन्दिरमा टेलिकम संग सहकार्य गरी ३ जी सेवा सुचारु गरिएको । धनगढी१३ श्रीलङ्का टोल स्थित गुल्लु घोकि नालामा गरिएको अतिक्रमण हटाइएको छ । उप महानगरका हरेक शाखाले १५÷१५ दिनको प्रगति प्रतिवेदन तयार गर्ने पद्धतिको विकास गरिएको, पहुँचका आधारमा भर्ना गरिएको कर्मचारीलाई हटाइएको, कार्यपालिका बैठकमा पानीको वोत्तलको सट्टा नगरकै धारको पानी प्रयोग गर्नेm व्यवस्था मिलाइएको, नगरमा हुने हरेक गतिबिधिका बारेमा जानकारी दिन नगरप्रमुख गोपाल हमाल नामक फेसबुक पेज सञ्चालन गरिएको, धनगढीको नवनिर्मित प्रशासनिक भवन सञ्चालनमा ल्याइएको, उपभोक्ता हित संरक्षण मञ्च गठत गरी कार्ययोजना अनुसार बजारमा अनुगमन टोली परिचालन गरिएको, लेखा समिति गठन गरी उप महानगरको बेरुजु फछ्यौट गर्ने कार्य अघि बढाइएको र कर्मचारीको कार्यलयमा उपस्थितीलाई नियमित बनाउन इहाजिरिको व्यवस्था गरिएको मेयर हमालद्वारा सार्वजनिक गरिएको प्रगति विवरणमा उल्लेख गरिएको छ ।

  कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष हिमालय जोशीले एक सय दिनको अवधिमा मेयर गोपाल हमालले राम्र्रो कामको थालनी गरेको बताए । एक सय दिन भनेको धेरै प्रगति देखाउन प्रयाप्त समय होइन, अध्यक्ष जोशीले भने– ‘तर कामको थालनी राम्रो भएको छ, यसलाई निरन्तरता दिनु पर्दछ, थालनी गरिएका काम विचैमा अपलत्र नपरुन् भन्ने नागरिकको अपेक्षा पनि हो ।

अध्यक्ष जोशीले गोपाल हमाल स्वतन्त्र रुपमा वीजयी भएका र नगरको विकास गर्ने मात्रै सोच भएको उनको धारणा अनुसार काम हुनुपर्ने बताए । सञ्चारकर्मी राम्रा काममा सधै साथ दिने बताउँदै उनले भने– ‘तर उहाँका हरेक कामको सञ्चारकर्मिले शुक्ष्म निग्रानी पनि गर्नेछन्, एउटा काम पनि नराम्रो गर्ने छुट मेयर सावलाई छैन, हामी उहाँका नराम्रा कामको बारेमा लेख्न हिच्किचाउनेवाला छैनौं ।