धनगढी पोष्ट आइतबार, ०९ असोज २०७९   September 25, 2022
सुदुरपश्चिममा बिपद

बाढीपहिरोबाट तीन महिनामा ४१ जनाको मृत्यु

बाढीपहिरोबाट तीन महिनामा ४१ जनाको मृत्यु

धनगढी । सुदूरपश्चिम प्रदेशमा मनसुन सक्रिय भएको तीन महिनामा विपदका कारणले ४१ जनाको मृत्यु भएको छ ।

मनसुन सक्रिय भएयता विपदजन्य (बाढी, पहिरो तथा डुवान) मा परि ४१ जनाको मृत्यु भएको  र  ११ जना वेपत्ता भएको सुदुरपश्चिम प्रदेश आपत्तकालिन कार्य सञ्चालन केन्द्रको तथ्यांकमा रहेको छ ।

सामान्यतया नेपालमा मनसुन जुन १३ मा सक्रिय भई सेप्टेम्बर २३ मा निस्क्रिय हुन्छ । मनसुन सक्रिय भएयता प्रदेशका नौ जिल्ला मध्य बाढी, पहिरो तथा डुवानका कारण कैलाली, कञ्चनपुर, अछाम र दार्चुला जिल्ला बढी प्रभावित भएका छन् ।

मनसुन सक्रिय भएयता सबै भन्दा मानवीय क्षति अछाममा पुर्याएको छ भने बढी घरपरिवार कैलालीमा प्रभावित भएका छन् ।

बिहीबार रातीदेखि परेको वर्षा कारण बाढी तथा पहिरोमा परि अछाममा २२ र कैलालीमा एक गरि २३ जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् । योसंगै शनिबारसम्म प्रदेशमा विपदका विभिन्न ५० ठाउँमा मृत्यु हुनेको संख्या ४१ पुगेको छ । 

प्रदेशमा बर्षेनी विपदबाट भौतिक तथा मानवीय क्षति हुने क्रम बढेको छ । प्रदेशको तराई क्षेत्रमा बाढी तथा डुबान र पहाडी क्षेत्रमा पहिरो, डुबान तथा प्रदेशका नौ वटै जिल्लामा चट्याङ, हावाहुरी, आगलागी लगायतका विपद र वन्यजन्तु आक्रमणबाट पनि अन्न बाली तथा मानवीय क्षति हुँदै आएको छ ।

प्रदेश आपत्तकालिन कार्यसञ्चालन केन्द्रको तथ्यांक अनुसार मनसुन शुरु भएयता शुक्रबारसम्म प्रदेशका ४७ ठाउमा बाढीपहिरो र डुबानबाट १८ जनाको मृत्यु भएको थियो भने २६ जना घाइते भएका थिए । ४७ स्थानमा एक सय चार घरपरिवार प्रभावित भएको केन्द्रको तथ्यांकमा रहेको छ ।
प्रदेशमा दार्चुलामा पहिरो तथा बाढीमा परि ६ जनाको मृत्यु भएको छ भने १० जना वेपत्ता भएका छन् । तीन महिनामा विपदका विभिन्न घटनामा दार्चुलामा १२ जना घाइते भएका छन् ।

विपदजन्य घटनाबाट मानविय क्षति भएको तेस्रोमा कञ्चनपुर रहेको छ । कञ्चनपुरमा विपदका कारण चार जनाको मृत्यु र दुई जना घाइते भएको प्रदेश आपत्तकालिन कार्यसञ्चालन केन्द्रको तथ्यांकमा रहेको छ ।

आर्थिक वर्ष २०७८/७९ मा प्रदेशमा १ सय १३ विपदजन्य घटनामा परि ५० जनाको मृत्यु, २३ जना वेपत्ता र ५३ जना घाईते भएका थिए । सो आर्थिक वर्षमा सबैभन्दा बढी मानविय घटना डोटीमा भएको थियो । डोटीमा पहिरोमा परि १८ जनाको मृत्यु भएको थियो ।

कैलाली एक मृत्यु, दुई घाईते
धनगढी । कैलालीको धनगढीमा झलारी नालीमा बगेर शनिबार एक युवतीको मृत्यु भयो । बिहीबार रातीदेखि परेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा बाढी तथा डुवान भईरहेका बेला नालीमा बगेर १९ वर्षिय नवीना चौधरीको मृत्यु भएको कैलालीका प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।
मृतक युवती धनगढी उपमहानगरपालिका वडा नम्बर १३ की हुन । उनी माछा मार्ने क्रममा नालामा बगेर वेपत्ता भएकी थिइन् । प्रहरीले खोजी कार्य गर्दै जाँदा उनलाई मृत अवस्थामा फेला पारेको हो ।
टिकापुर नगरपालिका वडा नं. २ मा घर भत्किदा २२ वर्षिय सुशील चौधरी घाईते भएको प्रहरी प्रवक्ता जोशीले जानकारी दिए ।  उनका अनुसार घाईतेलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।
यस्तै चुरे गाउँपालिका वडा नम्बर ३ मा पहिरो खस्दा घरमा रहेका आठ वर्षीय आयुश सापकोटा घाईते भएको प्रहरी प्रवक्ता जोशीले बताए ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार कैलालीको पूर्वि क्षत्रका पाँच पालिकामा डुवानका कारण नागरिकलाई समस्या भएको छ ।
जोशीका अनुसार कैलालीको जोशीपुर गाउँपालिकामा करिव चार सय, कैलारी गाउँपालिकामा एक सय ८०, टिकापुर नगरपालिकामा एक सय ७५, भजनीमा करिव छ सय ८०, लम्कीचुहामा एक सय ५० घर डुवानमा परेका छन् । ती स्थानमा उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीले डुवान प्रभावित क्षेत्रका मानिसलाई सुरक्षित स्थानमा पुर्याईरहेको सूचना अधिकारी जोशीले बताए ।

अछाममा २२ को मृत्यु, एक वेपत्ता
अछाममा शुक्रबारदेखिको अविरल वर्षासँगै गएको बाढी तथा पहिरोमा मृत्यु हुनेको संख्या २२ पुगेको छ । जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका २२ नाको शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए । 

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमा ढकारी गाउँपालिका ६ बस्ने २ बर्षीय नविन बुढा, तुर्माखाँद गाउँपालिका ५ बस्ने १७ बर्षीय जानकी शाही, सोही गाउँपालिकाका १७ बर्षीय बिमला शाही, ४५ बर्षीय नेत्र शाही, ३६ बर्षीय मनिषा शाही, १७ बर्षीय कल्पना शाही, १३ बर्षीय सुन्दर शाही, १ बर्षीय मेनिका शाही, ३ बर्षीय कल्पना शाही, २१ बर्षीय भावना शाही रहेको छन् ।

यस्तै कमलबजार नगरपालिका ६ बस्ने ३० बर्षीय अमृता कामी, १७ बर्षीय समिता कामी, २१ बर्षीय अर्धना कामी, ९ बर्षीय निखिल कामी, ३६ बर्षीय मैनकला कामी, १५ बर्षीय गिता कामी, १२ बर्षीय सिरु कामीको बाढी पहिरोमा मृत्यु भएको प्रहरीले बताएको छ । 

यस्तै कमलबजार नगरपालिका ८ ढुंगाला बस्ने २६ बर्षीय गम्भीर दमाई, बस्ने २३ बर्षीय भाना दमाई, ६ बर्षीय डिग्रा दमाई, ३ बर्षीय कलु दमाई, ४ बर्षीय कल्पना दमाई रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । २२ जनाको शव भेटिदा १ जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ । 

पहिरोमा परेर ११ जना घाइते छन् । पहिरोमा परी घाइते भएका ढकारी गाउँपालिका–६ ढुंगाचाल्नाका ३ जना घाइतेको हेलिकप्टर मार्फत उद्धार गरेर सुर्खेत लगिएको छ । एकै परिवारका सदस्य रहेका तीन जनालाई उद्धार गरेर थप उपचारको लागि सुर्खेत अस्पतालमा पठाईएको हो ।  

६२ वर्षका हर्क बुढा, उनकी कान्छी बुहारी २१ वर्षकी चन्द्रा बुढा, हर्क बहादुरका १२ वर्षका नाति धर्म बुढाको उद्धार गरिएको छ । उनीहरुको परिवारका डेढ वर्षको वर्षको बालक नवीन बुढाको भने घटनास्थलमै मृत्यु भएको छ । अहिले ढकारी गाउँपालिका–६ ढुंगाचाल्नाको गाउँ शोकमा डुबेको छ । कमलबजार र तुर्माखाँदमा हेलिकोप्टरबाट उद्वार गर्नु पर्ने प्रकृतिका घाइते नभएको निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले बताए । उनका अनुसार जिल्ला प्रशासन कार्यालयको आग्रहमा गृह मन्त्रालयले घाइतेको उद्धारका लागि हेलिकोप्टर पठाएको थियो । 

बेपत्ताको खोजी र घाइतेको उद्धार र उपचार गर्ने विषयलाई प्राथमिकता दिएको बताइएको छ ।