धनगढी पोष्ट आइतबार, ०९ असोज २०७९   September 25, 2022

डा. केसी काठमाडौं गए

डा. केसी काठमाडौं गए

धनगढी । स्वास्थ्य क्षेत्र सुधारको माग विगत राख्दै १० दिन देखि अनसनरत डाक्टर गोविन्द केसी आफ्नै अर्चमा काठमाण्डौं गएका छन् ।

सरकारी खर्चमा काठमाण्डौं नजाने घोषणा गरेका केसी बुधबार आफ्नै खर्चमा प्लेन टिकट काटेर काठमाण्डौं गएका उनका सहयोगी डाक्टर अमृत जैशीले बताए । उनि अहिले पौने ५ बजेको प्लेन मार्फत काठमाण्डौं गएका हुन् ।

स्वास्थ्यमा गम्भिर समस्या देखिएपछि उपचारमा संलग्न डाक्टरले केसीलाई काठमाण्डौं जान सुझाव दिएका थिए । स्वास्थ्यकर्मीको सुझाव अनुसार केसी आफ्नै खर्चमा काठमाण्डौं गएका सेती प्रादेशिक अस्पतालका सिनियर फिजिसियन कन्सल्टेन्ट डाक्टर शेरबहादुर कमरले बताए ।

मंगलबार सम्म माग पुरा नभएसम्म काठमाण्डौं नजाने अडानमा बसेका केसीलाई बुधबार सिनियर स्वास्थ्यकर्मीले सम्झाएपछि उनि काठमाण्डौं जान सहमत भएका हुन् । काठमाण्डौंमा केसीलाई टिचिङ हस्पिटलमा राखेर उपचार दिइने जनाइएको छ ।

स्वास्थ्य समस्या देखिएको भन्दै मंगलबार सरकारी पहलमा डाक्टर केसीलाई काठमाण्डौं लैजाने प्रयास गरेको थियो । तर केसीले सरकारी खर्चमा नजाने अडान लगेपछि उनलाई ओसार्न धनगढी पुगेको नेपाली सेनाको एयर ट्रक काठमाण्डौं फर्केको थियो ।