धनगढी पोष्ट बुधबार, १८ माघ २०७९   February 1, 2023

सुदूरपश्चिमाञ्चल सहकारीको साधारण सभा

सुदूरपश्चिमाञ्चल सहकारीको साधारण सभा

धनगढी । सुदूरपश्चिमाञ्चल बहुउद्देश्यिय सहकारी संस्थाको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कैलाली जनपुस्तकालयको सभाहलमा शनिबार भएको सभाको आर्थिक मामिला मन्त्री प्रकाश बहादुर रावलले समुदघाटन गरेका थिए । सभामा मन्त्री रावलले सहकारीबाटै मानिसको आर्थिक सुधार ल्याउन सकिने बताए । 

‘सहकारीले देशको अर्थतन्त्रको ठुलो क्षेत्र ओगटेको छ’ उनले भने –‘सहकारीकै कारण मानिसमा बचतको विकास हुनुको साथै महिलाले श्रीमानमाथि परनिर्भर हुनुपर्ने बाध्यताको अन्त्य भएको छ ।’ उनले प्रदेश सरकारले सहकारीको प्रवद्र्धन गर्न बजेट, नीतिमै कार्यक्रम समावेश गरेको बताए । प्रदेश सरकारले गाउ–गाउँमा सहकारी, घर–घरमा रोजगारी भन्ने नारालाई जोड दिएको उनले बताए ।

उनले सहकारी व्यवस्थित गराउन सहकारी शिक्षा आवश्यक रहेको बताए । उनले प्रदेश सरकारले सञ्चालन गर्न लागेको स्वरोजगार कार्यक्रममा पनि सहकारीलाई प्राथमिकता राखेको बताए । उनले भने –‘स्वरोजगार कोषले सहकारीलाई लगानी गर्ने बाटो बनाउँछ ।’

उनले प्रदेश सरकारले प्रदेश भरीका सहकारीको भवन निर्माण गर्न पनि बजेट विनियोजन गरेको बताए । 

प्रदेश प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर टीएन जोशीले सहकारी व्यवस्थित भएमा आम नागरिकको जीवन उकास्न सहयोग पुगाउने बताए । उनले सहकारीको व्यवस्थापन समिति सबल भए सहकारी पनि सबल बन्ने बताए ।

सहकारीका उपाध्यक्ष पुष्प कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा सहकारी रजिष्टार कार्यालयका देवराज पन्त, सहकारीका सञ्चालक समितिका संस्थापक दीव्यनारायण श्रेष्ठ, सहकारीका सल्लाहकार द्रोपती भट्ट लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा सहकारीमा योगदान पुर्याएको भन्दै सहकारीका पदाधिकारी तथा कर्मचारीलाई सम्मान तथा प्रशंशा पत्र वितरण गरिएको थियो । सहकारीको अध्यक्ष पदमा रही सहकारीमा योग्दान पुर्याएको भन्दै अध्यक्ष भोजराज जोशीलाई सम्मान गरिएको थियो ।

यस्तै अत्तरिया सेवा केन्द्रकी सुशिला बलायर, फुलवारी सेवा केन्द्रका लोकराज जोशी, धनगढीकी मिना जोशी, अत्तरियाकी रमिता चौधरी र दयाकिशोर शर्मालाई विभिन्न विधा मार्फत दोसल्ला सहित प्रशंशा पत्र वितरण गरिएको थियो ।

१८ प्रतिशत लाभांस वितरण गर्ने
सुदूरपश्चिमाञ्चल बहुउद्देश्यीय सहकारी संस्थाले शेयर सदस्यलाई १८ प्रतिशत लाभांश बितरण गर्ने भएको छ । शनिबार भएको सहकारीको २३ औं साधारण सभाल आर्थिक बर्ष २०७८।२०७९ को आयबाट  लाभांश बिरतण गर्ने निर्णय गरेको हो ।
सहकारीका उपाध्यक्ष पुष्प कुँवरले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पेश गर्दै सहकारीले आर्थिक वर्ष  २०७८।२०७९ मा एक करोड १० लाख ९५ हजार एक सय ११ मुनाफा आर्जन गरेको बताए । सो मध्ये असहज परिस्थितिमा पनि सदस्यहरुलाई सहकारी ऐन २०७४ बमोजिम १८ प्रतिशत लाभांस दिन संस्था सफल भएको उनले बताए ।
उनले विनियम बमोजिम कर्मचारीहरुलाई बोनस छुट्याई बोनस दिने व्यवस्था मिलाएको बताए । 
संस्थाको असार मसान्तसम्म चुक्ता शेयर पुँजी दुई करोड ५२ लाख ८८ हजार छ सय पुगेको उनले बताए । उनका अनुसार आर्थिक वर्ष २०७७÷७८ को तुलनामा ०७८÷७९ मा ७८ लाख १९ हजार नौ सय चुक्ता शेयर पुँजी वृद्धि गर्न सफल भएको छ ।
संस्थाको निक्षेप संकलन १७ करोड ४४ लाख ३९ हजार सात सय पाँच रुपैया पुगेको छ भने २५ करोड ३५ लाख आठ हजार नौ सय २६ रुपैया कर्जा प्रवाह गरेको छ । 
सो सहकारीमा एक हजार पाँच सय शेयर सदस्य रहेकोमा छ हजार चार सय ८७ वचतकर्ता रहेका छन् ।