धनगढी पोष्ट बुधबार, १८ माघ २०७९   February 1, 2023
धनगढीको मेनरोडका संरचना खाली गर्ने उपमहानगरपालिकाको सुचना

विकल्प बिना संरचना कसरी खाली  गर्नेः व्यवसायीे

धनगढी । धनगढी उपमहानगरपालिकाले विकल्प नदिई सडक संरचना हटाउन सुचाना  जारी गरेको भन्दै व्यवसायीहरुले बिरोध गरेका छन्  समय नै नदिएर खाली गर्दा व्यवासायी बिस्थापित हुने भन्दै उनीहरुले नगरपालिकाको बिरोध गरेका छन् ।

धनगढी उपमहानगरपालिकाले यही असोज मसान्तभित्र कैलालीपुलदेखि क्याम्पसरोडसम्मका सडकको ३० मिटर क्षेत्रभित्र पर्ने भौतिक संरचना खाली गर्न भदौं १३ गते सूचना प्रकाशित गरेको थियो । 

कैलाली उद्योग वाणिज्य संघले आइतबार सो सडक संरचनामा रहेर्का  व्यवसायीहरुसंग गरेको छलफलमा व्यवसायीहरुले कोभिड महामारीका कारण व्यवसाय नै धरापमा परेको यस अवधिमा उपमहानगरपालिकाको सो निर्णयले व्यवसायीहरु नै विस्थापित पार्ने गरि सूचना जारी भएको बताएका हुन् ।

धनगढीको मुख्य बजारमा सुन व्यवसायी गर्दै आएका टेकलाल श्रेष्ठले व्यक्तिको कुनै पनि घरमा क्षति नहुने गरी सडक विस्तार गर्ने कार्यमा सहयोग गर्ने बताए ।  

मुख्य बजारमा व्यवसायी गरिरहेका विनोद कुमार शाहले उपमहानगरपालिका केही व्यक्तिको स्वार्थमा परेर व्यवसायीहरुलाई दुःख दिने काम गर्न लागेको आरोप लगाए । उनले उपमहानगरपालिकाले व्यवसायीलाई कुनै विकल्प नदिई सडक  भौतिक संरचना खाली गर्ने सुचना निकाल्नु गलत भएको बताए ।

उनले उपमहानगरपालिकाले कार्यपालिकाको बैठकमा कुनै निर्णय नगराई एक्कासी पत्रपत्रिका मार्फत सूचना जारी गरेका भन्दै प्रश्न गरे –‘कुन कानुनमा रहेर सडक संरचनाको क्षेत्राधिकार ३० मिटर तोकिएको हो ? बिना कार्यपालिका बैठक नबसाई व्यवसायीहरुलाई धम्काउने गरि संरचना खाली गर्न भनी समयावधी दिइएको हो त्यो मान्य हुँदैन ।’

उपमहानगरपालिकाले सूचना जारी गरेदेखि नै केही व्यापारी तथा घरधनीहरुले विभिन्न चरणका बैठक बसाएका थिए । तर, व्यवसायी र घरधनीहरु एक ठाउँमा नआई फरक–फरक तरिकाले अघि बढेको व्यवसायी तथा कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष दिनेश लम्सालले बताए । उनले भने –‘घरधनीहरु व्यवसायीको पक्षमा केही सहमति गरेर आउँछन् की भनेर संघ कुरेर बसेको थियो । तर, घरधनीहरुले सहकार्य नगरेपछि व्यवसायीको पक्षमा संघले आवाज उठाउनु पर्ने आवश्यक देखिएको हो ।’ उनले कतिपय व्यवसायीहरु घर भाडामा लिएर व्यवसाय गरिरहेको बताउँदै भने –‘घरधनीले घर भत्काउँदा व्यवसायी मारमा पर्छन्, उनीहरुको व्यवस्था घरधनीले गरिदिन्छ् भन्ने पनि कुनै ग्यारेण्टी छैन । त्यसैले व्यवसायीहरु एक हुन आवश्यक छ ।’

व्यवसायी इश्वरप्रसाद खतिवडाले उपमहानगरपालिकाले बजेटको सुनिश्चितता नै नगरी सूचना जारी गरेको बताए । उनले भने –‘सडकको ३० मिटर त खाली गर भनेर सूचना जारी गरेको छ । घरधनीले घर भत्काउलान तर, सडक बनाउन स्रोतको त आवश्यक पर्छ । त्यसबारे अहिलेसम्म टुङ्गो लागेको छैन । यसले संरचना भत्काए पनि सडक बन्छ भन्ने ग्यारेण्टी समेत भएन ।’

व्यवसायी ठेकेन्द्र जोशीले उपमहानगरपालिकाले सडक मिचिएको क्षेत्र हटाउनमा ध्यान नदिई मुख्य सडक चौडाई गर्ने नाममा व्यवसायीलाई पिडा दिन खोजिरहेको आरोप  लगाए  बताए । ‘उपमहानगरपालिकाले सूचना जारी गरे पश्चात मुख्य बजारका व्यवसायीहरुलाई उधारोमा सामानहरु थप्न समस्या भईरहेको छ । सडक भत्किन्छ तिमिहरुको व्यवसाय सकियो भन्दै सहकारी तथा बैंकहरुले एकमुष्ट रकम तिर्न पत्र पठाईरहेको छ । एकातिर सामान व्यवसायीले पाएका छैनन भने अर्कोतिर बैंक तथा सहकारीको असुली आर्थिक मारमा पारिरहेको छ ।’

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प कुँवरले उपमहानगरपालिकाका निर्णयहरु व्यवसायीमैत्री बन्न नसकिरहेको बताए । उनले प्लाष्टिकजन्य सामाग्रीहरु निषेध, व्यवसायीहरुसंग छलफल नै नगरी सडक संरचनामा परेका भौतिक संरचना खाली गर्न जारी गरिएको सूचना लगायतका उपमहानगरपालिकाको गतिविधी व्यवसायीमैत्री नरहेको बताए । उनले संघका पदाधिकारीले पहिलो चरणमा उपमहानगरपालिकाका नगर प्रमुख गोपल हमालसंग बसेर छलफल तथा ध्यानाकर्षण गराउने बताए । उनले भने –‘नगर प्रमुखसंग निर्णय सच्याउन भनि आग्रह गर्छौ । त्यसपश्चात उहाँको गतिविधि जसरी अघि बढ्छ । संघले पनि त्यही अनुसार व्यवसायीको बचावटमा लाग्छ ।’