धनगढी पोष्ट आइतबार, ०९ असोज २०७९   September 25, 2022

किन बदनाम हुदैछ लघुवित्त व्यवसाय ?

 लघु भनेको सानो र वित्त भनेको आर्थिक कारोवार अर्थात सानो सानो आर्थिक कारोवारको चल्तिको नाम हो लघुवित्त । यहाँ चर्चा गरिएको लघुवित्तले यो व्यापक अर्थ पनि बोक्दैन । यसले त खालि विशेष गरि महिलाहरुको समुह बनाएर विना धितोमा व्याजमा पैसा लगानी लगाउने कारोवारलाई मात्र बुझिन्छ । यस्तो कारोवार गर्न नेपाल राष्ट्र बैंकले इजाजत दिने गरेको छ । इजाजत लिनका लागि पहिला लिमिटेड कम्पनी बनाउनु पर्ने र यस्तो कम्पनीले लघुवित्त कारोवार गर्न राष्ट्र बैंकले समय समयमा शर्त तोक्ने गर्छ । त्यो शर्त भित्र बसेर यस्ता कम्पनीले कारोवार गर्ने गर्छन् । यसका अतिरिक्त सहकारी संस्थाहरुले पनि यस्तो लघुवित्तको मोडलमा कारोवार गर्ने गरेका छन् । तिनको मोनिटरिङ र रेखदेख गर्ने काम सहकारी स्वयम्ले नै गर्ने गरेका छन् । राष्ट्र बैंकले सहकारीलाई यस्तो इजाजत दिदैन । सहकारी ऐन अनुसार नै यस्तो काम गर्न वाधा परेको मानिदैन ।

  नेपालमा शय भन्दा बढी कम्पनीले नेपाल राष्ट्र बैंकको इजाजत लिएर र दर्जनौं सहकारीले यस्तो वित्तिय कारोवार अर्थात लघुवित्त कारोवार गर्ने गरेका छन् । यस्तो लघुवित्तको अवधारणा बंगलादेशबाट शुरु भएको हो र यसको परिकल्पनाकार डाक्टर महम्मद युनुस हुन् । उनको परिकल्पनामा सानो भन्दा सानो व्यवसाय गर्न पनि पैसा नहुने गरिव परिवारका महिलालाई बिना धितो ऋण दिएर उनलाई जे अनुकुल हुन्छ, त्यही व्यवसाय गर्न सहयोग गर्नु हो । यस्तो परिवारले बैंकबाट ऋण नपाउने, बैंकसम्म पहुँच बनाउन नसक्ने, ऋण लिन धितो राख्न नसक्ने हुन्छन् । यिनले व्यवसाय गर्न स्थानीय साहु महाजनसँग ऋण लिनु पर्दा महङ्गो व्याज तिर्नु पर्ने हुँदा यस्ता परिवारको आर्थिक अवस्था कहिल्यै सुध्रिन सकेन । यस्ता  विपन्न परिवारलाई हत्तपत्त कसैले ऋण सापटी नदिने र दिए पनि अति नै महङ्गो व्याज तिर्नु पर्ने अवस्था बंगलादेशमा मात्रै होइन, संसारभरिका गरिव देश र तिनका समाजको अवस्था हो ।

   डाक्टर मोहम्मद युसुफले बिना धितो ऋण दिने र त्यसमा व्याज लिने मात्रै कुरा गरेनन् । उनले ऋण लिनेहरुको समुह बनाउने, समुहमा अनुशासन पालना गर्ने, वित्तिय साक्षारताको जानकारी दिने, स्थानीय स्तरमा र परम्परागत गरिने पेशा व्यवसायको संरक्षण र स्तर उन्नति गर्ने, साक्षारता अभियान चलाउने, स्वास्थ, शिक्षा जस्ता विषयको महत्व बुझाउने, बोल्न सिकाउने, व्यवस्थापन सिकाउने, हक अधिकार र समानताको बारेमा चेतना जगाउने, आर्थिक अवस्थासँगै सामाजिक पहुँचको बृद्धि गर्ने आदि जस्ता विषयको परिकल्पना गरिएको थियो । यसको मर्म सहितको प्रयोग बंगलादेशमा गरियो । यसको नेतृत्व स्वयम् डा. युसुफले लिए र यो अभियान त्यहाँ धेरै नै सफल भयो । बंगलादेशका धेरै नै भिखारी र गरिवको जीवनस्तर उकास्न यो अभियानले ठुलो सफलता पायो । डा. युसुफ संसारभरि चिनिए र उनले नोवल पुरस्कार प्राप्त गरे । त्यसैले तेश्रो विश्वका अरु मुलुकले पनि यसको अनुसरण गर्न थाले । एसिया, अफ्रिका लगायतका देशमा यसको प्रभाव पैmलदै गयो । यसै क्रममा नेपालमा पनि यसको प्रवेश भयो । शुरुमा ग्रामीण विकास बैंकको नामबाट नेपालमा सरकारले नै यो कार्यक्रम सञ्चालनमा ल्याएको थियो । पछि आर्थिक उदारीकरणको प्रभावसँगै यो कारोवार नीजि क्षेत्रका कम्पनीहरुले गर्न थाले । सरकारले सञ्चालन गर्दा तामझाम धेरै गर्ने र लागत बढाउने काम गरेकाले यी घाटामा गएका थिए ।

    जब नीजि कम्पनीहरुले लघुवित्तको कारोवार गर्न थाले, तबदेखि नै यो अभियानको मर्मको वेवास्ता गर्न थालियो र यसलाई कमाउ व्यवसायको रुपमा हेर्न थालियो । लगानीकर्ताहरुलाई यसले राम्रै मुनाफा दियो र दिईरहेको छ । धनी र मध्यम वर्गका मानिससँग कारोवार गर्ने बैंकहरुको भन्दा शेयर बजारमा अत्यधिक धेरै शेयर मुल्य यस्ता कम्पनीको हुनु यसैको प्रमाण हो ।

   लघुवित्तको कारोवार गर्ने जति कम्पनी खुले र जतिले राष्ट्र बैंकबाट इजाजत लिएर गाउँ गाउँमा गएर कारोवार गरे, ती सबैको एउटै उद्देश्य धेरै भन्दा धेरै लगानी गर, धेरै भन्दा धेरै व्याज उठाऊ र धेरै भन्दा धेरै नाफा कमाउ भयो । यो उद्देश्य पुरा गर्न ती कम्पनीहरु सफल हुदै गए । नियमन गर्नु पर्नेले यिनलाई नियमन  त गरेनन् नै, एक प्रकारले लुट्न छाडिदिए ।

  शुरुका दिनमा त यस्ता लघुवित्त कारोवार गर्ने कम्पनीले छत्तिस प्रतिशतसम्म व्याज लिन्थे । पछि घटाउदै लगे पनि अहिले बीस प्रतिशत भन्दा तल कसैको छैन भन्दा हुन्छ । अलि बढी व्याज लिन पाउने छुट यिनलाई छ । यसमा लागत बढी छ भन्ने मानिन्छ । बैंकहरुले नै यस्ता लघुवित्त कारोवार गर्ने कम्पनीमा लगानि गरेका छन् । विपन्न वर्गमा लगानी गर्नु भनि राष्ट्र बैंकले तोकेको रकम बैंकले यस्ता कम्पनी मार्पmत लगानी गरेर नाफा कमाउँछन् । कमाईरहेका छन् ।

   यस्ता लघुवित्त कम्पनीले लगानि गर्नु पुर्व र लगानी पश्चात समुहमा आवद्ध भएकाहरुको क्षमता विकास, सृजनशिलता एवं व्यवसायीक सुरक्षा, पारिवारिक तथा सामाजिक वातावरण, स्वास्थ र शिक्षाको महत्व, बचतको बानी र आवश्यकता, समुहमा एक आपसमा सहयोग आदिका बारेमा तालिम दिनु पर्छ । सिकाउनु पर्छ । क्षमताको विकाससँगै कर्जा लगानि गर्ने र यस्ता समुदायको जीवनस्तरमा सुधार ल्याउने अपेक्षित लक्ष हो । तर यस्ता लघुवित्त कम्पनीले माथिका कुनै पनि विषयमा कामै गरेनन् । खाली समुहलाई ग्राहक मात्रै ठानेर बैंकबाट लिएको सस्तो व्याजको पैसा लगानी गर्ने र जसरी भए पनि व्याज असुलेर नाफा कमाउने ध्याउन्न मात्र भएकाले एउटै व्यक्तिलाई धेरै वटा समुहमा आवद्ध गर्ने र ऋण लगानी गर्ने काम मात्रै भयो, भइरहेको छ ।

  जसरी नीजि स्कुलले अभिभावकसँग, अस्पतालले बिरामीसँग पैसा असुल्ने मात्रै ध्याउन्न गरे र व्यवसायिकता भित्रको सेवाभाव कमजोर हुँदा ती समाजमा बदनाम हुदै गए, त्यसैगरि यस्ता वित्तीय कम्पनी पनि मुख्य विषय गरिबी निवारणमा ध्यान दिन छाडेर जसरी पनि नाफा कमाउने ध्याउन्नमा लागे, ती पनि बदनाम हुने बाटोमा पुगे । अहिले कर्जाको बिमा गर्न थालिएको छ । यसको प्रिमियम शुल्क ऋणीले नै तिर्ने हो । यो निकै महङ्गो छ । यसले ऋणीलाई आंशिक राहत दिए पनि कम्पनीको लगानी नै सुरक्षित गरेको छ ।

  यस्ता लघुवित्त कम्पनीका प्रमोटर्सले सिइओलाई नाफाको टार्गेट दिने र सिइओले बिएमहरुलाई समुह, सदस्य, लगानी, असुली र नाफाको टार्गेट दिएको हुन्छ । यो बेठिक भन्न नमिल्ला, तर ती समुहका सदस्यलाई डा.मोहम्मद युसुफले परिकल्पना गरे जस्तो जीवनस्तर उठाउने अरु के के काम गरिएको छ ? त्यसका लागि नाफाको वा सञ्चालन खर्चको कति प्रतिशत खर्च वा लगानी गर्ने गरिन्छ ? खर्च वा लगानी नै गरियो भने पनि कसरी गरिन्छ ? के अपेक्षित नतिजा आएको छ ? होइन भने यस्ता गरिवसँग गरिने कारोवारले पहिले गाउँका हर्के साहुहरु धनी हुन्थे, अहिले शहरिया लगानीकर्ताहरु अर्थात धनीहरु नै अरु धनी हुने उद्यम मात्रै बन्न जान्छ । त्यसैले सम्वन्धित पक्षले यसबारेमा ध्यान दिन जरुरी भएको छ ।